स्तन क्यान्सर सचेतनाका लागि असोज १७ गते ‘पिंकवाक २०२६’ आयोजना हुने

काठमाडौं। स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, प्रारम्भिक पहिचानको महत्व बुझाउने तथा क्यान्सर प्रभावित व्यक्ति र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यका साथ ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।

इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आगामी असोज १७ गते शनिवार (अक्टोबर ३, २०२६) बिहान ६ बजे यो पदयात्रा कार्यक्रम गर्न लागेको हो।

काठमाडौंको वसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु हुने यो पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायर पुगेर सम्पन्न हुनेछ। कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सर जितेका व्यक्ति (सर्भाइभर्स), प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

स्तन क्यान्सर समयमै पत्ता लाग्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण र उपचारबारे सचेतना फैलाउनुका साथै बिरामीलाई सामाजिक तथा भावनात्मक सहयोग जुटाउनु यसको मुख्य लक्ष्य रहेको छ।

इन्फिनिट केयर्सका इकाई प्रमुख दिजुप तुलाधरका अनुसार पिंकवाक केवल पदयात्रामा सीमित नभई स्तन क्यान्सरबारे खुलेर कुरा गर्ने वातावरण बनाउने र आशा, साहस एवं ऐक्यबद्धता प्रकट गर्ने सामूहिक अभियान हो। उनले प्रभावित व्यक्ति तथा परिवारको मनोबल बढाउन सबैलाई यस अभियानमा सहभागी हुन आग्रह समेत गरे।

यस पदयात्रालाई सफल बनाउन नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस् र WOW जस्ता संस्थाहरूले साझेदारी गरेका छन् भने काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको सहयोग रहेको छ।

यसअघि २०८० सालमा सम्पन्न पहिलो संस्करणमा ६०० भन्दा बढीको सहभागितामा नक्सालदेखि स्वयम्भुसम्म पदयात्रा गरिएको थियो।

बहुराष्ट्रिय आईटी कम्पनी इन्फिनिट कम्प्युटर सोलुसन्सअन्तर्गतको इन्फिनिट केयर्सले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र क्यान्सर रोकथाम तथा बिरामी सहयोगमा सक्रिय गैरनाफामूलक संस्था क्यान्सर केयर नेपालको संयुक्त पहलमा यो दोस्रो संस्करण आयोजना हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *