काठमाडौं । आफू ‘श्रीमानसँगै बसिरहेको छु’ भन्दै सम्पर्क नगर्न आग्रह गरेकी विवाहित महिलाका अन्तरङ्ग फोटो र भिडिओ उनका ससुरालाई ह्वाट्सएपमा पठाएको आरोपमा रात्रीबस चालक तीरमान तामाङविरुद्ध मुद्दा दायर भएको छ।
काँकडभिट्टा–काठमाडौं रुटमा बस चलाउने तामाङमाथि महिलाको चरित्र हत्या गरेको आरोपमा सरकारी वकिलको कार्यालयले शुक्रबार झापा जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत अभियोगपत्र दायर गरेको हो।
उदयपुरगढी गाउँपालिका–२, गएटार स्थायी घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय तामाङविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार १ लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। साथै, पीडित महिलालाई परेको मानसिक क्षतिबापत क्षतिपूर्ति भराउन पनि सरकारी पक्षले माग गरेको छ।
अदालतमा पेस भएको मिसिलअनुसार महिला र तामाङबीच करिब डेढ वर्षअघि बस यात्राका क्रममा चिनजान भएको थियो। त्यसपछि उनीहरूबीच फोन सम्पर्क हुँदै सम्बन्ध अघि बढेको थियो। महिलाले भने तामाङले विवाह गर्ने प्रलोभन देखाएर आफूलाई भेट्न बोलाउने र पछि खिचिएका निजी फोटो तथा भिडिओ सार्वजनिक गरिदिने धम्की दिएको जाहेरीमा उल्लेख गरेकी छन्।
तामाङले भने अनुसन्धानका क्रममा आफूहरूबीच सहमतिमै प्रेम सम्बन्ध रहेको दाबी गरेका छन्। महिलाले श्रीमानसँग सम्बन्ध टुटिसकेको बताएपछि आफूहरूले सँगै बस्न थालेको र सोही क्रममा दुवैको सहमतिमै फोटो तथा भिडिओ खिचिएको उनको बयान छ।
घटनाको विवाद त्यतिबेला चर्कियो, जब महिला पुनः श्रीमानसँगै घर फर्किइन्। २०८३ असार २ मा छोरालाई सर्पले टोकेको खबर पाएपछि झापा फर्किएकी उनले तामाङलाई आफू अब श्रीमानसँगै रहेको भन्दै सम्पर्क नगर्न भनिन्।
परिवारको पहलमा महिला र उनका श्रीमान्बीच पुनः घर व्यवहार मिलाउने सहमति हुँदै थियो। यही क्रममा असार १४ गते तामाङले महिलासँगका अङ्कमाल र चुम्बन गरिएका फोटो तथा भिडिओ उनका ससुराको ह्वाट्सएपमा पठाएको अभियोगपत्रमा उल्लेख छ।
तामाङले भने ससुराले नै फोटो तथा भिडिओ मागेपछि पठाएको बयान दिएका छन्। तर, ती सामग्री ससुराको ह्वाट्सएपमा पुगेपछि दम्पतीबीच पुनः मिल्ने तयारी पनि बिग्रिएको र महिलाको सामाजिक तथा पारिवारिक प्रतिष्ठामा असर परेको सरकारी पक्षको दाबी छ।
प्रहरीले असार १८ गते दमक–७ स्थित महेन्द्र राजमार्गनजिकबाट तामाङलाई पक्राउ गरेको थियो। उनको मोबाइल फोनसहित महिलाका ससुराले बुझाएका दुई थान पेनड्राइभ र स्क्रिनसटलाई प्रमाणका रूपमा मिसिलमा समावेश गरिएको छ।
बरामद मोबाइल डिजिटल फरेन्सिक परीक्षणका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, नक्साल पठाइएको छ। त्यसको प्रतिवेदन आउन बाँकी रहेकाले प्रतिवेदन प्राप्त भएपछि थप दाबी पेस गरिने सरकारी पक्षले जनाएको छ।
तामाङलाई भने साउन ११ गते जिम्मा जमानीमा छाडिएको छ।




