जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना नेपालबीच सहमति भएको भन्ने प्रचारमा कुनै सत्यता नरहेको भन्दै हिन्दु सम्राट सेना नेपालले बन्दसहितका आन्दोलनका कार्यक्रम यथावत् रहने जनाएको छ ।
शनिबार धनुषा जिल्ला प्रशासन कार्यालयमा सरकार र हिन्दुवादी सङ्गठनबीच भएको वार्तापछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सहमति भएको जानकारी दिएका थिए । तर, हिन्दु सम्राट सेना नेपालले सरकारलाई बुझाइएको मागपत्रलाई नै सहमति भएको भन्दै प्रचार गरिएको दाबी गरेको छ ।
नेपाल प्रेससँग कुरा गर्दै हिन्दु सम्राट सेना नेपालका महासचिव राकेश सनातनीले आफूहरूले सरकारसमक्ष बुझाएको १५ बुँदे मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको बताए ।
‘हामीले बुझाएको मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरियो । कुनै सहमति भएको छैन। त्यसैले बन्दका कार्यक्रम फिर्ता हुँदैनन्’, उनले भने ।
महासचिव सनातनीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा कार्यकर्ताले सहमति भएको भन्दै गलत प्रचार गरेको आरोपसमेत लगाए ।
यता, वार्तामा सहभागी गृहमन्त्री सुधन गुरुङले भने सहमति भएको वा नभएको विषयमा स्पष्ट प्रतिक्रिया दिन चाहेनन्। नेपाल प्रेसको जिज्ञासामा उनले ‘देशमा अब कुनै प्रकारको धार्मिक द्वन्द्व हुनु हुँदैन’, भन्ने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
सरकार र संयुक्त हिन्दु मोर्चाबीच पहिलो चरणको वार्ता शनिबार दिउँसो २ः३० बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो । त्यसपछि राति ८ बजेदेखि १० बजेसम्म मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा दोस्रो चरणको वार्ता भएको थियो ।
दुवै चरणको वार्ता सम्पन्न भए पनि औपचारिक सहमतिपत्रमा हस्ताक्षर नभएको हिन्दु सम्राट सेना नेपालले जनाएको छ भने प्रमुख जिल्ला अधिकारीले सहमति भएको बताएका छन् ।




