चेम्बरले बुझायो सभामुख घिमिरेलाई ज्ञापनपत्र,अख्तियारको संशोधन विधेयक सच्याउन माग

काठमाडौँ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत विधेयक सच्याउन नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ। सभामुख देवराज घिमिरेसमक्ष ज्ञापनपत्र बुझाउदै चेम्बरले यस्तो आग्रह गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिधि सभामा गएकोले उक्त बिधेयक सच्याउन माग गरिएको हो। विधेयकले निजी क्षेत्रमा प्रतिकुल असर गर्ने चेम्बरको दावी छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लका अनुसार मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला विधेयकले निजी क्षेत्र थप संकुचित हुने र उद्योग व्यवसायमा प्रतिकुल असर पर्ने देखिन्छ । सभामुख घिमिरेसमक्ष ज्ञापनपत्र बुझाउदै अध्यक्ष मल्लले ‘उद्योग व्यवसायको प्रवर्द्धन, संरक्षण मार्फत निजी क्षेत्रको मनोबल उकास्नुपर्नेमा विधेयकमा उल्लेखित व्यवस्थाले थप हतोत्साही बनाएको बताएका छन् ।

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याएर अनुसन्धान गर्ने व्यवस्था संविधानको भावना बिपरित रहेको भन्दै मल्लले निजी क्षेत्रमा नियमन गर्ने छुट्टै निकाय रहेको बताए। यसले वैदेशिक लगानी समेत प्रभावित हुन सक्ने मल्लको धारण छ ।

चेम्बरलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदीय समितिहरु गठनको प्रक्रियामा रहेकाले पनि गठन भए लगत्तै आफ्ना सुझावहरु दिने बताए । साथै उनले निजी क्षेत्रमैत्री कानुन निर्माणका लागि आफू प्रयासरत रहेको बताए। घिमिरेले ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहने भएपनि आफुले अभिभावकीय भूमिका निर्वाह गर्ने बताएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *