मर्जर प्रक्रिया पूरा गरी सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आज अर्थात् फागुन २९ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्दैछन् ।
साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार हुँदै छ ।
मर्जपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय भने काठमाडौं महानगरपालिका–१ नक्सालमा रहने कम्पनीले जानकारी दिएको छ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स १००:८० सेयर अनुपातमा मर्जमा जाने निर्णय गरेका हुन् ।
दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।




