

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले अबको ५ वर्षमा यस बैंक १० खर्बको बैंक बन्ने बताएका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले भने, ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ ।’
न्यौपानेलेबैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको बताउँदै हालसम्म ती लक्ष्य र योजनाहरु पनि हासिल गर्दै गएको बताए । उनले नेपाल राष्ट्र बैंकले क्यापिटल एडुकेसीमा कडाइ गर्दा लाभांश दिन नसकेको पनि प्रष्ट पारे । वर्षभर नै क्यापिटल एडुकेसी कायम गर्न निर्देशन दिए पनि बैंकले नसक्दा लाभांश वितरणमा रोक लगाएको उनको भनाइ छ ।
यस्तै, बैंकिङ क्षेत्रभन्दा एनआइसी एशियाको तीन गुणा बढी प्रतिसेयर आम्दानी रहेको उनको भनाइ छ । आगामी वर्ष लाभांश दिन कुनै समस्या नभएको न्यौपानेले बताए ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
अर्थ सन्जाल