काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि यो निश्चित भएको हो ।
नेपाल पुनर्बीमाले यसअघि नै पुँजी वृद्धि गर्ने उद्देश्यले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो । तर सरकारले थप पुँजी लगानी नगर्ने निर्णय गरेपछि हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।
मंगलबार मन्त्रिपरिषद्ले नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्ने निर्णय गरेसँगै रोकिएको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।
कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न २०८२ साउनमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । व्यवस्थापनले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी कायम गर्नुपर्ने आवश्यकता औंल्याएपछि कम्पनीले उक्त निर्णय गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही रकम बराबरको हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको थियो ।
नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४.४ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत सेयर स्वामित्व छ ।
बाँकी सेयर स्वामित्व २० वटा बीमा कम्पनीसहित ग्लोबल आईएमई क्यापिटल, गुह्येश्वरी मर्चेन्ट बैंकिङ, हाथवे इन्भेस्टमेन्ट, ग्लोबल आईएमई बैंक, सुप्रिम सिमेन्ट्स, आईएमई, ज्ञान सेक्युरिटिज, विशाल ग्रुप र लक्ष्मी सनराइज बैंकको रहेको छ ।




