काठमाडौं। दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गरेको बिग मुभिजले तीव्र रूपमा विकसित प्रविधि र दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै आफ्ना हलहरूको व्यापक नवीकरण (रेनोभेसन) गरेको छ। काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित आफूलाई नयाँ स्वरूपमा प्रस्तुत गरेको हो।
कम्पनीले आफ्नो मूल नारा ‘Experience Cinema, Experience the Difference’ लाई सार्थक बनाउने उद्देश्यले दृश्य, ध्वनि, सिट र समग्र वातावरणमा अन्तर्राष्ट्रियस्तरको सुविधा थपेको जनाएको छ।
नवीकरणपछि हलमा युरोपेली ब्रान्ड बार्कोको अत्याधुनिक Barco SP4K-20C (Series 4) 4K RGB Laser Projector जडान गरिएको छ। यसमा २१ हजार लुमेन्स ब्राइटनेस र 4K (4096×2160) नेटिभ रिजोल्युसन रहेको छ। यसले पर्दामा चलचित्रका दृश्यलाई थप स्पष्ट, चम्किलो र जीवन्त बनाउने कम्पनीको दाबी छ।
त्यस्तै, उच्च गुणस्तरको रङ संयोजनका लागि ८५ प्रतिशतभन्दा बढी Rec. 2020 तथा DCI-P3 कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ।
हलमा १९×४३ फिट, २०×४३ फिट र २०×४६ फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन्। ध्वनि प्रणालीतर्फ ६४ च्यानलको Dolby Atmos थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ। ओभरहेड तथा चारैतिर राखिएका स्पिकर र CP(5)A साउन्ड प्रोसेसरमार्फत दर्शकले चारैतिरबाट वास्तविक ध्वनिको अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ।
दर्शकको आरामलाई ध्यानमा राख्दै प्रिमियम सिटिङको व्यवस्था पनि गरिएको छ। हलमा २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सी राखिएका छन्। ती कुर्सीमा एड्भान्स्ड एर्गोनोमिक डिजाइन, रिच ल्यामिनेटेड फेब्रिक र थ्री-पोजिसन रिक्लाइनिङ सुविधा उपलब्ध छ। थप आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ ट्रिम कलर रिक्लाइनरसमेत जडान गरिएको छ।
हलमा नयाँ कार्पेटिङ, अकस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरिएको छ।
बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा नवीकरणबारे जानकारी दिँदै प्रविधि र सुविधामा आफूहरूले सधैँ अग्रस्थानमा रहने प्रयास गरेको बताए।
उनका अनुसार बिग मुभिजमा अब दर्शकले उत्कृष्ट पिक्चर, साउन्ड, कम्फर्ट र समग्र सिनेमा अनुभव प्राप्त गर्नेछन्।
नेपालमा मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने अग्रणी संस्थाका रूपमा परिचित बिग मुभिजले यस नवीकरणमार्फत नेपाली सिनेमा हलको अनुभवलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य राखेको छ। अब यहाँ चलचित्र हेर्नु पर्दाको दृश्यमा सीमित नभई कथा, ध्वनि र वातावरणलाई एकसाथ महसुस गर्ने अनुभव हुने कम्पनीको विश्वास छ।




