गृहमन्त्री गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई लक्षित गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता गोविन्द अधिकारी पक्राउ परेका छन्। कास्की प्रहरीले उनलाई सोमबार साँझ पोखरा–८, नागढुंगाबाट पक्राउ गरी अनुसन्धानका लागि गोरखा पठाएको हो।

अधिकारीले आइतबार फेसबुकमा ‘गोरखामा सुधन गुरुङलाई लखेटे’ शीर्षकमा भिडियो सामग्री (रिल्स) पोस्ट गरेका थिए। उक्त सामग्रीमा दुई–तीन वर्षअघिको घटनालाई गृहमन्त्री गुरुङ गोरखा पुगेको समयको घटनाजस्तो गरी प्रस्तुत गरिएको आरोप प्रहरीले लगाएको छ।

कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गोरखा प्रहरीको अनुरोधमा अधिकारीलाई पक्राउ गरी पठाइएको बताए। उनका अनुसार अधिकारीलाई सामाजिक सञ्जालमा भ्रम फैलाएको वा पोस्ट गर्न नहुने सामग्री राखेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। उनीविरुद्ध साइबर ब्युरोमा निवेदन परेको हो वा गोरखा जिल्ला प्रहरीमा भन्नेबारे आफूलाई यकिन नभएको कार्कीले बताए।

गोरखा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले भने हुँदै नभएको विषयलाई वास्तविक घटनाजस्तो प्रस्तुत गरेर भ्रम फैलाएकाले अधिकारीलाई पक्राउ गरिएको दाबी गरे। उनका अनुसार अधिकारीलाई शान्तिसुरक्षामा खलल पुर्‍याएको र भ्रम फैलाएको विषयमा अनुसन्धान भइरहेको छ। मंगलबार गोरखा जिल्ला अदालतमा उपस्थित गराइएका अधिकारीलाई पाँच दिन हिरासतमा राख्न अनुमति लिइएको श्रेष्ठले बताए।

श्रेष्ठले अधिकारीको पक्राउ गृहमन्त्रीको ठाडो आदेशमा नभएको दाबी गरे। जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरेर खण्डन गरिसकेको विषयमा पनि सामाजिक सञ्जालबाट भ्रम फैलाउने काम भएपछि पक्राउ गरिएको उनको भनाइ छ। अधिकारीविरुद्ध साइबर ब्युरो वा गोरखा प्रहरीमा कुनै जाहेरी वा निवेदन नपरेको पनि उनले बताए।

यद्यपि, सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्री भाइरल भएपछि गृहमन्त्रालयदेखि प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी र जिल्ला प्रहरीसम्म चासो बढेको स्रोतको दाबी छ। भिडियो पोस्ट भएलगत्तै गृह मन्त्रालयले चासो राख्न थालेको र त्यसपछि प्रहरीका विभिन्न निकाय सक्रिय भएको स्रोतले जनाएको छ। तर, अधिकारीको पक्राउ गृहमन्त्रीको निर्देशनमा भएको भन्ने विषयमा प्रहरीले अस्वीकार गरेको छ।

अधिकारीको पक्राउप्रति नेकपा कास्कीले आपत्ति जनाएको छ। उनलाई गोरखा पठाइएपछि नेकपा कास्कीका इन्चार्ज रामजीप्रसाद बराल, संयोजक खड्ग हमाललगायतका नेता प्रहरी अधिकारीहरूलाई भेट्न पुगेका थिए।

इन्चार्ज बरालले सामाजिक सञ्जालमा लेखेकै र बोलेकै आधारमा नागरिकलाई पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताए। उनले अधिकारीलाई तत्काल रिहा गर्न माग गरे।

यसैगरी, वाईसीएल कास्कीले विज्ञप्ति जारी गर्दै अधिकारीको रिहाइको माग गरेको छ। सरकारको आलोचना गर्ने नागरिकलाई पक्राउ गरेर विचार र आवाज नियन्त्रण गर्न खोज्नु निरंकुश प्रवृत्ति भएको वाईसीएलको आरोप छ। नागरिकको अभिव्यक्ति दबाउने प्रयासले लोकतन्त्र कमजोर बनाउनुका साथै राज्यप्रतिको विश्वाससमेत घटाउने विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *