काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै बैंकको नाफा १ हजार ८०३.७१ प्रतिशतले बढेको हो।
बैंकको सार्वजनिक वित्तीय विवरणअनुसार नाफामा उल्लेख्य सुधार देखिए पनि खुद ब्याज आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म दुई अर्ब ४५ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ३६ करोड २५ लाख रुपैयाँ मात्रै कमाएको छ। यो गत वर्षको तुलनामा ३.७२ प्रतिशत कम हो।
यद्यपि बैंकको कुल सञ्चालन आम्दानीमा सुधार देखिएको छ। गत वर्ष दुई अर्ब ६५ करोड २५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालू आर्थिक वर्षमा ८.८६ प्रतिशतले बढेर दुई अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा १५ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ।
बैंकको प्रतिसेयर आम्दानी १७ पैसाबाट बढेर तीन रुपैयाँ पाँच पैसा पुगेको छ। तर, खराब कर्जाको अनुपात भने सामान्य बढेको छ। गत वर्ष ४.७८ प्रतिशत रहेको खराब कर्जा चालू आर्थिक वर्षमा ४.७९ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा कायम भएको छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तमा दुई अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा चालू आर्थिक वर्षमा घटेर ७८ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ७३ करोड रुपैयाँ र जगेडा कोषमा १८ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले दुई खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने तीन खर्ब ४८ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।




