काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान जहाज अवतरण प्रभावित भएको छ। भिजिबिलिटी कमजोर भएपछि अवतरणको प्रयासमा रहेका केही जहाज अन्य विमानस्थलतर्फ डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड भएका छन्।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४का अनुसार बुद्ध एयरका दुईवटा जहाज अवतरण गर्न नसकेपछि भरतपुर विमानस्थलतर्फ डाइभर्ट भएका छन्। उडान नम्बर बीएचए २००डीले दोस्रो प्रयासमा पनि अवतरण गर्न नसकेपछि ओभरसुट गरेको देखिएको छ। त्यसपछि उक्त जहाज पुनः होल्डमा गएको थियो।
बाक्लो हुस्सुले विमानस्थल ढाकिएका कारण जहाज अवतरणका लागि आवश्यक दृश्यता कमजोर भएको छ। विमानस्थल क्षेत्रमा हावाको गति चार नट रहेको बताइएको छ। बुद्ध एयरका जहाजसँगै अन्य कम्पनीका केही जहाज पनि आकाशमै होल्ड भएका छन्।
रामेछाप विमानस्थलमा समेत प्रतिकूल मौसमका कारण जहाज अवतरणमा समस्या देखिएको छ।
मौसमको प्रतिकूल अवस्था हुँदाहुँदै उडान सञ्चालन गरिएका घटनाले हवाई सुरक्षासम्बन्धी प्रश्न उठाएको छ। मौसम र विमानस्थलको अवस्थाबारे पर्याप्त जानकारी तथा मूल्यांकन गरेर मात्रै उडान अनुमति दिइएको थियो वा थिएन भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीको ध्यानाकर्षण आवश्यक देखिएको छ।
प्रतिकूल मौसममा उडान र अवतरणको निर्णयमा लापरबाही भए त्यसले गम्भीर हवाई दुर्घटनाको जोखिम निम्त्याउन सक्ने भएकाले घटनाको आवश्यक छानबिन र उडान व्यवस्थापनको समीक्षा गर्नुपर्ने देखिन्छ।




