काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ। बैंकले असोज मसान्तसम्म एक अर्ब १८ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६२ प्रतिशत कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र शुल्क तथा कमिसन आम्दानी बढे पनि सञ्चालन नाफामा आएको गिरावट तथा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम बढ्दा खुद नाफा प्रभावित भएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२४ प्रतिशतले बढेर दुई अर्ब ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी दुई अर्ब ४० करोड ७४ लाख रुपैयाँ थियो। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १२.७९ प्रतिशतले बढेर ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
मुख्य आम्दानीका स्रोतमा सुधार आएपछि बैंकको कुल सञ्चालन आम्दानी पनि ४.६२ प्रतिशतले बढेर तीन अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। तर, कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज ४८ करोड नौ लाखबाट बढेर ६१ करोड ७० लाख रुपैयाँ पुगेको छ। यसले बैंकको सञ्चालन नाफामा दबाब परेको छ। समीक्षा अवधिमा सञ्चालन नाफा ५.४८ प्रतिशतले घटेर एक अर्ब ९६ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ रुपैयाँ ९४ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा घटेर २२ रुपैयाँ ६७ पैसा कायम भएको छ।
बैंकको खराब कर्जामा भने थप वृद्धि देखिएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ५.८६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७.१५ प्रतिशत पुगेको छ। यसले बैंकको कर्जा व्यवस्थापनमा चुनौती थपिएको संकेत गर्छ। असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा दुई अर्ब पाँच करोड १७ लाख रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले दुई खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने दुई खर्ब ७५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
यस अवधिमा बैंकको कुल सम्पत्ति तीन खर्ब ३८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ।




