काठमाडौं । नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्यूरो झिकाइएको छ । प्रहरीले फोन गरेर बोलाएपछि उनीहरु ब्यूरो पुगेका छन् ।
नेपाल प्रेसकै कार्यालयमा प्रवेश गरेर आज पत्रकार विश्वमणी सुवेदीलाई पक्राउ गरिएको थियो । त्यसलगत्तै अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेललाई उपस्थित हुन भनिएको हो ।
समाचारको विषयमा छलफल गर्नुपर्ने भनेर फोन आएको प्रधानसम्पादक पौडेलले बताए ।
नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरिक्षक दानबहादुर कार्कीमाथि सरकारले दबाब बढाएको सम्बन्धी समाचारलाई लिएर सोधपुछ गर्न खोजिएको प्रहरी स्रोतको दाबी छ ।
प्रेस स्वतन्त्रताविरोधि सरकारको यो हर्कतको पत्रकारहरुले निन्दा गरेका छन् । साइबर ब्यूरोमा पत्रकार महासंघका पदाधिकारी लगायत पत्रकारहरु जम्मा हुन थालेका छन् ।




