काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म ४२२ परियोजनामार्फत १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो ।
यस अवधिमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । पर्यटनका १०८ परियोजनाका लागि ६ अर्ब ८ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
ऊर्जामूलक क्षेत्रमा ४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, सेवा क्षेत्रमा ३३ परियोजनामार्फत ३ अर्ब ५७ करोड ५४ लाख ३८ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
उत्पादनमूलक उद्योगका २५ परियोजनामार्फत १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सूचनामूलक क्षेत्रमा भने २५२ परियोजनामार्फत ९२ करोड ८३ लाख ६७ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
कृषिमूलक क्षेत्रमा सबैभन्दा कम प्रतिबद्धता आएको छ । यस क्षेत्रमा दुई परियोजनाका लागि ४ करोड रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांक छ ।




