काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माणाधीन १३२/३३ केभी केरौन सबस्टेसन र त्यससँग सम्बन्धित ३३ केभी सब–ट्रान्समिसन लाइनको निर्माण सम्पन्न भएको छ। निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी निर्माण पूरा भएको आयोजना अहिले चार्जिङको चरणमा पुगेको छ।
आयोजना निर्माणका लागि १० नोभेम्बर २०२१ मा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार १० नोभेम्बर २०२३ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयमा काम पूरा हुन सकेन। निर्माणमा भएको ढिलाइका कारण आयोजनाको म्याद आठ पटकसम्म थप्नुपरेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले करिब दुई महिनाअघि कोशी प्रदेशको निरीक्षणका क्रममा आयोजनाको निर्माणलाई गति दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। आवश्यक सहजीकरण र निर्देशनपछि निर्माणले तीव्रता पाएको र अहिले आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताएका छन्।
कुल १४८.५ एमभिए क्षमता रहेको सबस्टेसनमा ६३ एमभिएका दुईवटा १३२/३३ केभी ट्रान्सफर्मर र २२.५ एमभिएको एउटा ३३/११ केभी ट्रान्सफर्मर जडान गरिएको छ। दुहवी–दमक १३२ केभी प्रसारण लाइनसँग जोडिएको सबस्टेसनमा पाँचवटा ११ केभी फिडरसमेत राखिएका छन्।
यसैगरी केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइनसमेत निर्माण गरिएको छ। सबस्टेसन सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति तथा वितरण प्रणालीको क्षमता र विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





