रास्वपाको कोर टिम प्रधानमन्त्रीलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सरकार गठन भएको छ महिना नपुग्दै प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने रणनीति बनाइएको उनको दाबी छ ।

शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकारलाई अन्य दलबाट खतरा नभए पनि रास्वपाभित्रैबाट असफल बनाउने प्रयास भइरहेको बताएका हुन् ।

उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउन मोर्चाबन्दी गरेको आरोप लगाए । रास्वपाको नेतृत्व तहका गतिविधिलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ ।

साहले लामिछानेको भारत भ्रमण, चीन भ्रमणको तयारी र पुनः धार्मिक यात्राका लागि भारत गएको प्रसंग उठाउँदै रास्वपाको शीर्ष नेतृत्वको विदेश भ्रमणमाथि प्रश्न गरेका छन् । अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै उनले यी गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्ने बताए ।

उनका अनुसार रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेको छ । उनले यसप्रति सचेत रहनसमेत आग्रह गरे ।

साहले रास्वपा चुनाव र सत्ता केन्द्रित भएको आरोप लगाउँदै देश तथा जनताको विषयमा पर्याप्त चासो नदिएको टिप्पणी गरे ।

‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन,’ उनले भने, ‘यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ।’

उनले रास्वपाका केही कार्यकर्ता सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत हुने गरेको र गालीगलौजले सामाजिक वातावरण दूषित बनाएको आरोपसमेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *