काठमाडाैं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा मुलुकको बाह्य क्षेत्र थप मजबुत देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुवै उल्लेख्य बचतमा रहेका छन्।
भदौ मसान्तसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा चालु खाता बचत अघिल्लो वर्षको सोही अवधिको ९३ करोड ६७ लाख डलरबाट बढेर यस वर्ष १ अर्ब ११ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा पनि शोधनान्तर बचत १ अर्ब १० करोड डलरबाट बढेर १ अर्ब २३ करोड डलर पुगेको छ।
यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) उल्लेख्य रूपमा बढेको छ। दुई महिनामा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २७ करोड रुपैयाँको तुलनामा १३४ प्रतिशत बढी हो।
त्यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ थियो।
भ्रमण आय २८.६ प्रतिशत बढेर १४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने भ्रमण व्यय १३.१ प्रतिशत घटेर ४१ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ। शिक्षा शीर्षकको खर्च पनि ९.८ प्रतिशत घटेर २९ अर्ब ५५ करोड रुपैयाँमा झरेको छ।
यस्तै, विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।





