रेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो, दुई महिनामै भित्रियो ४ खर्ब ३६ अर्ब

काठमाडाैं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।

भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको भदौमा यस्तो आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाह दोहोरो अंकले बढेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो।

पहिलो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *