काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नियामक निकायबाट आवश्यक स्वीकृति लिएर निकट भविष्यमै प्रचलित धितोपत्रसम्बन्धी नियमावली तथा निर्देशिकाअनुसार सेयर निष्कासन गर्ने जनाएको छ ।
कम्पनीले प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
निप्पोन फर्मास्युटिकलले विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनलगायत औषधि उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीको विधिवत् दर्ता २००६ मा भएको थियो भने उद्योग स्थापना २०१७ मा भएको हो ।
स्थापना भएको पाँच वर्षपछि अर्थात् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको कम्पनीले चार वर्षको अवधिमा विभिन्न उपचारात्मक समूहका ६० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको जनाएको छ । कम्पनीले उच्च गुणस्तरका औषधि तथा औषधिजन्य उत्पादनको विविध पोर्टफोलियो विकास तथा उत्पादन गर्दै नेपाली औषधि बजारलाई सेवा दिँदै आएको जनाएको छ ।
‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराका साथ अघि बढिरहेको कम्पनीले देश र जनताका लागि आवश्यक अधिकांश औषधिमा आत्मनिर्भर बन्न सहयोग गर्दै राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा योगदान पुर्याउँदै आएको जनाएको छ ।




