काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जति प्रहार भए पनि नढल्ने र बाँचुन्जेल कसैका सामु नझुक्ने बताएका छन्। आफूलाई नजिकबाटै विश्वासघात भएको प्रसंग सुनाउँदै ओलीले महाभारतका भीष्म पितामहको उदाहरणसमेत दिएका छन्।
एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न किसिमका प्रहार भएको बताए। नजिक आएर ‘कमरेड’ भन्नेहरूले समेत छुरा हानेको उनको भनाइ थियो।
‘नजिकै आउँछ, कमरेड भन्छन्, ग्याम्म छुरी हान्छ। यो पनि देखियो,’ ओलीले भने।
आफूमाथि जतिसुकै प्रहार भए पनि आफू नढल्ने दाबी गर्दै उनले महाभारतका भीष्म पितामहको प्रसंग निकाले। अर्जुनले लगातार तीर प्रहार गरेपछि भीष्म पितामह शरशय्यामा ढलेको प्रसंग उल्लेख गर्दै ओलीले आफू अझै त्यति बूढो नभएको टिप्पणी गरे।
‘भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बूढो भइसकेका थिए। म त्यति बूढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,’ उनले भने।
ओलीले आफ्नो राजनीतिक जीवन साढे पाँच दशकभन्दा लामो रहेको उल्लेख गर्दै देश र जनताका लागि अझै काम गर्ने बताए। ५७ वर्षअघि राजनीतिक आन्दोलनको पुनर्गठन, एकीकरण र क्रान्तिकारी अभियान सुरु गरेको स्मरण गर्दै उनले त्यतिबेलाको उद्देश्य पञ्चायती व्यवस्था अन्त्य गर्ने, राजतन्त्र ढाल्ने र समाजवादतर्फ अघि बढ्ने रहेको बताए।
‘म जिउँदो हुँदाहुँदै राजतन्त्र ढालिएको छ, पञ्चायत फालिएको छ,’ ओलीले भने।
आफूले राजनीतिक जीवनमा पटकपटक राज्यको दमन र मुद्दा खेप्नुपरेको पनि उनले बताए। अहिले मात्रै नभई विगतमा समेत राज्यले आफूलाई ज्यानमारा भनेको उनको भनाइ थियो।
‘राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन नि, त्यतिबेला पनि ज्यानमारा भनेको थियो,’ ओलीले भने।
आफूले व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताका लागि राजनीति गरेको दाबी गर्दै ओलीले मृत्युसँग डर नलाग्ने बताए। जीवनको अन्त्य कहिले हुन्छ भन्ने थाहा नभए पनि बाँचुन्जेल संघर्ष गरिरहने उनको भनाइ थियो।
‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुन्जेलसम्म बैरीसँग झुकिँदैन,’ उनले भने।
आफूलाई के हुन्छ भन्ने चिन्ता नभएको उल्लेख गर्दै ओलीले आफ्नो राजनीतिक जीवन व्यक्तिगत लाभका लागि नभएको बताए। ‘मलाई चिन्ता छैन, मलाई के हुन्छ भन्ने कुरा कुनै चिन्ता छैन। किनभने, मैले मेरा लागि कामै गरेको होइन,’ उनले भने, ‘मरिन्छ, यो देशका लागि।’




