काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयलाई ट्रस्टमा नभई कम्पनीकै रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्। निजी विद्यालयलाई सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाउने प्रस्तावप्रति असहमति जनाउँदै उनले लगानीको सुरक्षा र विद्यालयको दीर्घकालीन सञ्चालन सुनिश्चित हुने गरी शिक्षा ऐन बनाउनुपर्ने बताए।
आइतबार ललितपुरमा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’ विषयक बहसमा अधिकारीले संस्थापकको मृत्यु वा अन्य कारणले विद्यालय बन्द हुने अवस्था अन्त्य गर्न कानुनी व्यवस्था आवश्यक रहेको बताए। ट्रस्टमा सञ्चालन भएका विद्यालय बन्द भएको उदाहरण दिँदै उनले कम्पनीका रूपमा सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिए।
हामी कमाउनको लागि नै आएको हो, जोगी हुन आएको होइन। जोगी हुन स्कुल खोलेको चाहीँ हामीले हुँदै होइन,’ अध्यक्ष अधिकारीले भने, ‘त्यसकारण नेपाल सरकारले यिनले कमाए भन्न सक्ने, थानीय सरकारले यी डुबे भनेर कहिले काहीँ आँसु चुहाएको हामी देखेका छौँ? छैनौँ।’
उनले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई श्रम ऐनअनुसार पारिश्रमिक दिन, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र बैंकिङ प्रणालीमार्फत तलब भुक्तानी गर्न आफूहरू तयार रहेको बताए।
निजी विद्यालयमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्थाप्रति उनले असहमति जनाए। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सरकारी विद्यालयमा निःशुल्क वा सहुलियतमा पढाउने र शुल्क तिर्न सक्ने विद्यार्थीलाई निजी विद्यालयले गुणस्तरीय शिक्षा दिने व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।
सरकारले उपलब्ध गराउने सुविधाअनुसार विद्यालयको मासिक तथा वार्षिक शुल्क घटाउन पनि निजी विद्यालय तयार रहेको अधिकारीले बताए।




