काठमाडौं । फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेपछि उनलाई आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
शर्माविरुद्ध तत्कालीन सनराइज बैंकको कर्जा प्रकरणमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको थियो । पर्सा जिल्ला अदालतमा दायर मुद्दामा शर्मासहित चार जनालाई प्रतिवादी बनाइएको छ । पक्राउ पुर्जी जारी भएपछि अन्य प्रतिवादीसँगै शर्मालाई पनि प्रहरीको खोजी गरिरहेको थियो ।
अञ्जली इन्टरनेसनलसँग धितो लिएर पनि स्वीकृत गरिएको थप कर्जा रकम उपलब्ध नगराइएको विषयमा बैंकका तत्कालीन उच्च अधिकारीहरूको निर्णय र भूमिकामाथि प्रश्न उठाउँदै फौजदारी मुद्दा अघि बढेको हो ।
कर्जा स्वीकृति, धितो व्यवस्थापन तथा कर्जा प्रवाहसँग सम्बन्धित निर्णय प्रक्रियालाई लिएर अनुसन्धान अघि बढेपछि यो प्रकरण बैंकिङ क्षेत्रमै चासोको विषय बनेको छ ।
शर्मा त्यतिबेला सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । अहिले भने उनी प्रभु बैंकको सीईओ छन् । यही कारण उनको आत्मसमर्पणसँगै मुद्दाको कानुनी प्रक्रियाले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापनमाथि समेत थप चासो बढाएको छ ।
शर्मालाई अदालतमा उपस्थित गराएपछि आजै थुनछेक बहस हुने भएको छ । बहसपछि अदालतले धरौटीमा रिहा गर्ने, साधारण तारेखमा राख्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये उपयुक्त आदेश गर्नेछ।
प्रतिवादीमाथि लगाइएको आरोप प्रमाणित हुने वा नहुने विषय अदालतको न्यायिक प्रक्रियाबाटै टुंगो लाग्ने भएकाले
शर्माको आत्मसमर्पणसँगै अब पर्सा जिल्ला अदालतको थुनछेक आदेशलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरिएको छ ।
विशेषगरी बैंकको उच्च व्यवस्थापनमा रहेका व्यक्तिको निर्णय, कर्जा स्वीकृति र प्रवाहसँग जोडिएको विषय फौजदारी मुद्दासम्म पुगेपछि यो प्रकरणले बैंकिङ सुशासन र निर्णय प्रक्रियामाथि समेत नयाँ बहस सिर्जना गरेको छ ।




