ग्यास अभाव बढेपछि बिक्रेता महासंघको माग– ‘उद्योगबाट खुद्रा बिक्री बन्द गर’

काठमाडौं । नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।

महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगहरूले गर्दै आएको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्रै ग्यास बिक्री–वितरणको व्यवस्था गर्न माग गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताएका छन् ।यो सत्यलाई बेवास्ता गर्दै विभिन्न ग्यास उद्योगहरूले धमाधम २५ सय देखि २७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले कडा आपत्ति जनाएको छ ।

यसरी उद्योगले नयाँ सिलिन्डर बेच्दा पनि नेपाल आयल निगम र सरकार मूकदर्शक बनेको भन्दै महासंघले उद्योगी, निगम र सरकारको कार्यशैलीप्रति संशय व्यक्त गरेको छ।

बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने महासंघको चेतावनी छ ।

महासंघले ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगबाट भइरहेको खुद्रा बिक्री बन्द गरी डिलरमार्फत मात्रै बिक्री गर्ने व्यवस्था तत्काल लागू गर्न माग गरेको छ।

त्यस्तै, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सरोकारवालासँग छलफल गरेर सहज आपूर्ति व्यवस्था मिलाउन पनि महासंघले निगमलाई आग्रह गरेको छ।

हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४.२ किलोको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्नुपर्ने मागसमेत महासंघले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *