राष्ट्र बैंकले बढायो विदेशी मुद्रा सटहीको सीमा, उपचारदेखि जहाजको पार्टपुर्जासम्ममा सहजता

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी तथा सटहीको सीमा बढाएको छ। एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै राष्ट्र बैंकले हवाई जहाजका पार्टपुर्जा आयात, विदेशमा उपचार, सेटेलाइट सेवा, भारतमा सेवा भुक्तानी तथा सेवा निर्यातबाट आर्जित विदेशी मुद्रा प्रयोग गर्न पाउने सीमामा वृद्धि गरेको हो।

संशोधित व्यवस्थाअनुसार नेपाली वायुसेवा कम्पनीले हवाई जहाजका इन्जिन वा पार्टपुर्जा आयात गर्दा सम्बन्धित नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिससहित आवश्यक कागजातका आधारमा बैंक तथा वित्तीय संस्थाले नै अमेरिकी डलर ५ लाखसम्म अग्रिम भुक्तानी पठाउन सक्नेछन्। यसका लागि विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्ने छैन। यसअघि यस्तो सीमा १ लाख डलर थियो।

विदेशमा उपचार गराउन जाने नेपाली नागरिकले आवश्यक प्रक्रिया पूरा गरी अस्पतालको उपचार तथा औषधि र उपचारजन्य उपकरण खरिदका लागि वार्षिक ३० हजार डलरसम्म सटही सुविधा पाउनेछन्। यसअघि यस्तो सीमा १५ हजार डलर थियो।

दूरसञ्चार सेवा प्रदायक नेपाली कम्पनीले विदेशी कम्पनीसँग सम्झौता गरी सेटेलाइट सेवा भाडामा लिँदा वा प्रयोग गरेबापत आवश्यक कागजातका आधारमा बैंक तथा वित्तीय संस्थाले नै वार्षिक ५ लाख डलरसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि सीमा १ लाख डलर थियो।

नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत भएको वा सटही सिफारिस प्राप्त भएको अवस्थामा आवश्यक कागजातसहित वाणिज्य बैंकबाट प्रतिपटक ३० हजार डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा लिन सकिनेछ। यसअघि यस्तो सीमा १५ हजार डलर थियो। ३० हजार डलरभन्दा बढी भुक्तानीका लागि भने सम्बन्धित नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति आवश्यक पर्नेछ।

नियामक निकाय नभएको वा सम्झौता तथा सहमति स्वीकृत तथा सिफारिस हुन नसकेको अवस्थामा प्रतिपटक ८ हजार डलरभन्दा बढी भुक्तानीका लागि पनि विभागको स्वीकृति लिनुपर्नेछ।

सेवा आयातका क्रममा प्रतिपटक ३० हजार डलरभन्दा बढी अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थामा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो सीमा १५ हजार डलर थियो।

भारतस्थित संघ, संस्था वा कम्पनीबाट विभिन्न सेवा लिने नेपाली तथा विदेशी कम्पनी वा संस्थाले सम्झौताअनुसार वाणिज्य बैंकमार्फत प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सक्नेछन्। त्यसका लागि सम्बन्धित नियामक निकायको स्वीकृति वा सटही सिफारिस आवश्यक पर्नेछ। ६० लाख भारतीय रुपैयाँभन्दा बढी भुक्तानी तथा नियामक निकाय नभएको अवस्थामा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति लिनुपर्नेछ। यसअघि सीमा ४० लाख भारतीय रुपैयाँ थियो।

हवाई जहाजका इन्जिन वा पार्टपुर्जा विदेशमा लगेर मर्मत गरी नेपाल ल्याउने प्रयोजनमा पनि बैंक तथा वित्तीय संस्थाले आवश्यक कागजातका आधारमा ५ लाख डलरसम्म अग्रिम भुक्तानी पठाउन सक्नेछन्। यसअघि यस्तो सीमा १ लाख डलर थियो।

त्यस्तै, विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने कार्ड प्रयोगकर्ताको रकम कार्डमै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रयोगकर्ताको अनुरोधमा यस्तो रकम स्वदेशी वा विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिनेछ। कार्डमा १० हजार डलरभन्दा बढी मौज्दात भए अतिरिक्त रकम अनिवार्य रूपमा सम्बन्धित खातामा जम्मा गर्नुपर्नेछ। यसअघि यो सीमा ५ हजार डलर थियो।

सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा आर्जित रकम र तोकिएको डलर सीमाअनुसार सटही सुविधा पाउनेछन्। यस्तो सुविधा बढीमा वार्षिक १० हजार डलरसम्म हुनेछ। यसअघि अधिकतम सीमा ५ हजार डलर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *