सुर्खेत । रसुवालगायत जिल्लामा आएको बाढी तथा पहिरोका कारण कर्णाली प्रदेशका १६८ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बाढी–पहिरोपछि प्रदेशका विभिन्न जिल्लाबाट २४८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये ७८ जना सम्पर्कमा आएका छन् भने दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका–१० पिपलनेटाका २० वर्षीय आयुष खड्काको मृत्यु भएको छ। यस्तै, हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्माको पनि बाढीमा परी मृत्यु भएको जनाइएको छ। शर्मा रसुवा भन्सार कार्यालयका अधिकृत रहेको प्रहरीले जनाएको छ।
जुम्लाका सबैभन्दा धेरै सम्पर्कविहीन
प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन्। सल्यानका ५१ जना अझै सम्पर्कविहीन छन्।
त्यस्तै, सुर्खेतका १५, मुगुका ११, रुकुम पश्चिमका ७, कालिकोटका ६, हुम्लाका ६, दैलेखका ५, जाजरकोट र डोल्पाका २/२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा १४३ पुरुष, २६ महिला र चार बालिका रहेको प्रवक्ता राठौरले जानकारी दिए।
खोजी तथा उद्धार जारी
रसुवालगायत क्षेत्रमा बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका कर्णालीवासीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वैदेशिक रोजगारी, व्यापार तथा सरकारी सेवाका क्रममा रसुवालगायत क्षेत्रमा पुगेका कर्णालीवासी पनि बाढी–पहिरोबाट प्रभावित भएका छन्। विशेषगरी जुम्ला, सल्यान, सुर्खेत, मुगु, दैलेख र हुम्लाका धेरै व्यक्ति सम्पर्कविहीन रहेको प्रहरीको विवरण छ।




