काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा युवा पुस्ताबाट नेतृत्वमा दाबी प्रस्तुत गर्ने क्रम बढेको छ। यसै क्रममा डा. सुदनकुमार वलीले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
वलीले युवा समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारीसहित प्रचार अभियान अघि बढाएका हुन्। उनले सार्वजनिक गरेको प्रचार सामग्रीमा ‘गौरव, गति र गन्तव्यका सारथी’ भन्ने नारासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
अर्थशास्त्रमा विद्यावारिधि गरेका वली नीति, अर्थतन्त्र तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहँदै आएका छन्। उनी लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्यसमेत हुन्।
पार्टीभित्र नीति तथा अनुसन्धानका क्षेत्रमा समेत काम गरेका वलीले कांग्रेसमा नयाँ पुस्ताको सहभागिता र नीतिमा आधारित राजनीतिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका विभिन्न तहमा युवा पुस्ताका नेताहरूले दाबी प्रस्तुत गरिरहेका बेला वलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले पार्टीलाई समयअनुकूल बनाउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आएका छन्।
अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक नीतिका विषयमा आफ्नो अध्ययन र अनुभवलाई पार्टीको नीति निर्माणमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेको वलीको भनाइ छ।
कांग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले केन्द्रीय सदस्यका आकांक्षीहरूले आफ्नो पक्षमा प्रतिनिधिको समर्थन जुटाउन थालेका छन्। युवा पुस्ताबाट आएका उम्मेदवारीले महाधिवेशनको नेतृत्व चयनमा नयाँ पुस्ताको उपस्थितिलाई थप चर्चामा ल्याएको छ।




