मलेसियामा नेपाली श्रमिकको न्यूनतम तलब बढ्ने तयारी, २ हजार रिंगिट पुर्‍याउने प्रस्ताव

काठमाडौं । मलेसियामा कार्यरत नेपालीसहित विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने तयारी भएको छ। मलेसिया सरकारले हाल कायम १ हजार ७ सय रिंगिटको न्यूनतम मासिक तलब बढाएर २ हजार रिंगिट पुर्‍याउने विषयमा छलफल अघि बढाएको हो।

२ हजार रिंगिट नेपाली रुपैयाँमा करिब ७५ हजार रुपैयाँ आसपास हुन्छ। प्रस्ताव कार्यान्वयनमा आएमा मलेसियामा न्यूनतम पारिश्रमिकमा काम गरिरहेका नेपाली श्रमिकको मासिक आम्दानी पनि बढ्नेछ।

मलेसियाली सरकारले भने न्यूनतम तलब वृद्धि गर्दा रोजगारदातामाथि पर्ने आर्थिक भारलाई समेत ध्यानमा राखेको जनाएको छ। विशेषगरी साना तथा मझौला व्यवसायमा तलब वृद्धिले पार्न सक्ने प्रभावबारे सरकारले विचार गरिरहेको बताइएको छ।

मलेसियामा ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि जाने गरेका छन्। न्यूनतम पारिश्रमिकमै काम गरिरहेका श्रमिकका लागि प्रस्तावित तलब वृद्धि प्रत्यक्ष रूपमा महत्त्वपूर्ण हुने देखिन्छ।

नयाँ न्यूनतम तलब लागू गर्ने विषयमा अन्तिम निर्णय भने मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमले आगामी बजेटमार्फत घोषणा गर्ने अपेक्षा गरिएको छ। प्रस्ताव स्वीकृत भएमा मलेसियामा न्यूनतम तलब पाउने विदेशी श्रमिकको पारिश्रमिक पनि सोहीअनुसार समायोजन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *