काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो ६ महिनाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकमा सरकारको समग्र कामकारबाहीको समीक्षा गर्दै उनले सरकार अपेक्षित रूपमा अघि बढ्न नसकेको बताएका हुन्।
पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्डले प्रधानमन्त्री शाह संसद्प्रति पर्याप्त जवाफदेही नदेखिएको र सरकारका कामकारबाही पारदर्शी हुन नसकेको विषय उठाएका थिए।
प्रधानमन्त्रीका पछिल्ला गतिविधि र सरकार सञ्चालनको शैलीबारे प्रश्न उठाउँदै उनले ‘गतिविधि रहस्यमय देखिएको’ धारणा राखेको दुलालले जानकारी दिए। प्रचण्डले प्रधानमन्त्रीका गतिविधिको कारण के हुन सक्छ भन्नेबारे समेत बैठकमा प्रश्न गरेका थिए।
सरकारका तर्फबाट भएका कामको समीक्षा गर्दा सबै क्षेत्रमा केही पनि नभएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो। तर, समग्र मूल्यांकन गर्दा सरकार सही दिशा र अपेक्षित गतिमा अघि बढिरहेको नदेखिएको उनले बताएका थिए।
बैठकमा सरकारको कार्यशैलीसँगै संसद्को प्रभावकारिता र जनसरोकारका विषयमा पनि छलफल भएको थियो। कानुन निर्माणलाई प्रभावकारी बनाउने तथा संसद्मा जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा सांसदहरूले धारणा राखेका थिए।
बैठकले प्राकृतिक विपद्का घटनाबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका काममा पार्टीका सांसदलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ। विपद्का बेला राज्यका निकायसँग समन्वय गर्दै प्रभावित नागरिकसम्म राहत पुर्याउन सांसदहरूले भूमिका खेल्ने जनाइएको छ।
बैठकमा आगामी राजनीतिक भूमिकाबारे समेत छलफल भएको थियो। सरकारको कामकारबाहीमाथि निगरानी बढाउँदै संसद्लाई थप प्रभावकारी बनाउने र जनसरोकारका विषयमा पार्टीको उपस्थिति सशक्त बनाउने विषयमा नेताहरूबीच छलफल भएको बताइएको छ।




