नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले २०८३ साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ – नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ।
अटो शो २०८३ साउन २६ गते (११ अगस्ट २०२६) बिहान ९:०० बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा उद्घाटन हुनेछ। उद्घाटन सत्रमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका अधिकारीहरू, प्रतिष्ठित संघसंस्थाका पदाधिकारीहरू, नाइमाका सञ्चालक समितिका पदाधिकारी एवं सदस्य संस्थाहरू, नाइमा नेपाल प्रदर्शनी साझेदार संस्थाहरू, अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थालगायतको विशेष उपस्थिति रहनेछ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योग अन्तरक्रिया जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको सहभागिता रहनेछ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउनेमात्र होइन, भविष्यको दिशा तय गर्ने एउटा महत्वपूर्ण मञ्च भएको बताइन्। ‘एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भनिन्, ‘यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याउँदैछौँ। उद्योग क्षेत्रको उत्साहपूर्ण सहभागिताले एक्स्पोप्रतिको विश्वास अझ बलियो बनाएको छ।’
त्यस्तै, एक्स्पोको अटो शो योजना समितिका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिहरूको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै एक्स्पोको तयारीलाई अगाडि बढाइरहेको बताए।
‘यसपटक प्रदर्शनीसँगै सिकाइ सत्र, तालिम तथा जनचेतनामूलक कार्यक्रमहरूलाई पनि विशेष प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र सरोकारवालालाई जोडेर ज्ञान आदानप्रदान, सीप विकास र सुरक्षित तथा जिम्मेवार मोबिलिटीप्रति जनचेतना अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो।’
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताए। ‘मेला अवधिभर ६ दिन नै आयोजना हुने विभिन्न सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योग अन्तरक्रियामा सहभागिताका लागि हामी सबैलाई हार्दिक अनुरोध गर्दछौँ,’ उनले भने।
उद्घाटन समारोह सम्पन्न भएपश्चात् एक्स्पो उद्घाटनका दिन २०८३ साउन २६ गते (११ अगस्ट २०२६) दिउँसो १:०० बजेदेखि साँझ ७:०० बजेसम्म र बाँकी दिनहरूमा बिहान ११:०० बजेदेखि साँझ ७:०० बजेसम्म एक्स्पो खुला रहनेछ।
मेलाको सह–प्रायोजकमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल मुख्य सहयोगीका रूपमा रहेको छ। त्यस्तै, बैंकिङ साझेदारका रूपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन्। मेलाको बीमा साझेदारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्।
त्यसैगरी, प्रविधि साझेदारमा बोस्च, शिक्षा साझेदारमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ साझेदारमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड साझेदारमा पठाओ नेपाल प्राइभेट लिमिटेड, जलपान साझेदारमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, आतिथ्य साझेदारमा द सोल्टी काठमाडौं, चिकित्सा साझेदारमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, निगरानी साझेदारमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा आगलागी तथा सुरक्षा साझेदारमा हिट्को प्राइभेट लिमिटेड रहेका छन्।
नाइमा मोबिलिटी एक्स्पोको सह–टिकटिङ साझेदारमा आइएमई खल्ती लिमिटेड, क्यूआर साझेदारमा युनियनपे, श्रव्य–दृश्य साझेदारमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल साझेदारमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, सवारी सुरक्षा साझेदारमा एटीएस नेपाल, व्यवस्थापन साझेदारमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी साझेदारमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र प्रकाशन साझेदारमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन्।




