काठमाडौँ । औषधि उत्पादनका लागि आयात गरिएको स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा मुद्दा खेपेका उद्योगी रतनलाल संघाई १० लाख रुपैयाँ धरौटीमा रिहा भएको तथ्य भेटिएको छ। संघाई समूहअन्तर्गतको आर्य फर्मा ल्याबसँग जोडिएको उक्त प्रकरणमा उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने अर्का अभियुक्त मोहित हलानलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रका आधारमा बारा जिल्ला अदालतको चार नम्बर इजलासका तत्कालीन न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले आर्य फर्माका सञ्चालकमध्येका रतनलाल संघाईलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। फर्माका मार्केटिङ डाइरेक्टर मोहित हलानलाई भने पुर्पक्षका लागि थुनामा राखेर कारबाही अघि बढाउन आदेश भएको अदालतका श्रेस्तेदार मोहन सुवेदीले बताएका थिए।
सरकारी वकिलले संघाई र हलानविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना तथा दुई वर्षदेखि १० वर्षसम्म कैद सजायको मागदाबी गरेको थियो। लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागूऔषधको कारोबारबाट आर्जित सम्पत्तिसमेत जफत गर्न सकिने व्यवस्था रहे पनि स्युडोइफ्रिडिन कारोबारबाट अभियुक्तहरूले आर्जन गरेको सम्पत्तिको यकिन गरी जफत गर्नुपर्ने विवरण अभियोगपत्रमा समावेश नगरिएको अदालतका अधिकारीहरूले बताएका थिए।
प्रहरी तथा सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रअनुसार आर्य फर्माका सञ्चालकहरूले तीन वर्षको अवधिमा पाँच पटकसम्म औषधि व्यवस्था विभाग र गृह मन्त्रालयबाट कोडिन, डिकोल्डलगायत औषधि उत्पादनका लागि अनुमति लिई ठूलो परिमाणमा स्युडोइफ्रिडिन नेपाल भित्र्याएका थिए। त्यसमध्ये करिब एक हजार किलो स्युडोइफ्रिडिन नेपाल ल्याइएको विवरण अनुसन्धानका क्रममा खुलेको अदालतले जनाएको थियो।
आर्य फर्माबाट ल्याइएको स्युडोइफ्रिडिन भारतलगायत तेस्रो मुलुकतर्फ अवैध रूपमा पठाउने गरिएको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा आर्य फर्मामा कार्यरत भारतको रक्सौल निवासी दिलीप पण्डित पक्राउ परेका थिए।
पण्डितले पाटन औद्योगिक क्षेत्रस्थित संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा ट्याब्लेट राखिएको बताएपछि ब्युरोले त्यहाँ छापा मारेको थियो। छापाका क्रममा ९ सय ५२ वटा सेतो डिब्बामा करिब ४ सय ७१ किलो ट्याब्लेट फेला परेको थियो। त्यस्तै, मोहित हलानको गाडीबाट समेत करिब २० किलो ट्याब्लेट बरामद गरिएको अनुसन्धान विवरणमा उल्लेख थियो।
अनुसन्धानका क्रममा स्युडोइफ्रिडिनलाई अन्तर्राष्ट्रिय लागुऔषध कारोबारसँग जोडेर हेरिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार चीन र बर्मालगायत मुलुकमा रहेका अन्तर्राष्ट्रिय कारोबारीले स्युडोइफ्रिडिन प्रयोग गरी एम्फेटामाइन तथा ‘आइस’ लगायतका लागुऔषध उत्पादन गरी विभिन्न मुलुकमा पुर्याउने गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो।
यस प्रकरणका मुख्य अभियुक्त भनिएका पवन संघाईलगायत केही व्यक्ति भने फरार रहेको र उनीहरू अदालतमा उपस्थित भएपछि मात्र कानुनी प्रक्रिया अघि बढ्ने अदालतका अधिकारीहरूले बताएका थिए।

पुरानो प्रकरण सेलाएपछि नयाँ व्यापारका सक्रिय
स्युडोइफ्रिडिन प्रकरणमा अदालतबाट धरौटीमा रिहा भएका रतनलाल संघाईसँग जोडिएको संघाई समूहको व्यावसायिक गतिविधि भने त्यतिमै रोकिएको देखिँदैन। अहिले यही समूहसँग जोडिएको कम्पनीमार्फत नेपालमा इनर्जी ड्रिंकको कारोबार भइरहेको छ।
संघाई समूहअन्तर्गतको एग्रो थाइफुडमार्फत ‘एक्सट्रिम इनर्जी ड्रिंक’ र ‘म्याक्स टाइगर’ नामका पेय पदार्थ बजारमा बिक्री भइरहेका छन्। यससँगै पुरानो स्युडोइफ्रिडिन प्रकरण र अहिलेको खाद्य तथा पेय पदार्थ कारोबारबीचको व्यापारिक यात्रामाथि पनि चासो बढेको छ।
विशेषगरी विगतमा औषधि उत्पादनका नाममा आयात गरिएको स्युडोइफ्रिडिनको अवैध कारोबारको आरोपमा मुद्दा खेपेको समूह अहिले ठूलो उपभोक्ता बजार भएको इनर्जी ड्रिंक व्यवसायमा सक्रिय भएपछि त्यसको उत्पादन, गुणस्तर, नियमन र उपभोक्ता सुरक्षाका विषयमा प्रश्न उठ्न थालेका छन्।
‘एक्सट्रिम’ इनर्जी ड्रिंकमा प्रयोग हुने रासायनिक पदार्थ, क्याफिनको मात्रा तथा खाद्य मापदण्डको पालना भए–नभएको विषयमा समेत परीक्षण र नियमनको आवश्यकता देखिएको छ। उत्पादनमा प्रयोग भएका पदार्थ र तिनको मात्रा प्रयोगशाला परीक्षणबाट मात्र यकिन हुने भएकाले परीक्षण प्रतिवेदन नआएसम्म त्यसबारे निश्चित निष्कर्ष निकाल्न भने सकिंदैन।
यसैबीच, ‘एक्सट्रिम’ सेवनपछि स्वास्थ्यमा गम्भीर समस्या आएको दाबी गर्दै एक युवकले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका छन्। उनले आफूले दैनिक तीन–चारवटा क्यानसम्म इनर्जी ड्रिंक सेवन गरेको र पाँच महिनापछि मिर्गौलामा समस्या आएको दाबी गरेका छन्। तर, उनको स्वास्थ्य समस्या र उक्त पेय पदार्थबीच प्रत्यक्ष कारणसम्बन्ध स्थापित भएको आधिकारिक चिकित्सकीय प्रमाण सार्वजनिक भइसकेको छैन।
इनर्जी ड्रिंकका नमुना परीक्षणका लागि भारतका दुई प्रयोगशालामा पठाइएको छ। नमुनाको सूक्ष्मजीव, रासायनिक संरचना तथा पोषणसम्बन्धी परीक्षण प्रतिवेदन आएपछि मात्र उत्पादनमा प्रयोग भएका पदार्थ र तिनको मात्रा मापदण्डअनुकूल छन् कि छैनन् भन्ने थप स्पष्ट हुने बताइएको छ।
त्यसकारण पुरानो स्युडोइफ्रिडिन प्रकरण, त्यसमा अदालतले दिएको धरौटी आदेश र अहिले संघाई समूहसँग जोडिएको इनर्जी ड्रिंक कारोबारलाई एउटै निष्कर्षमा जोड्नु अघि उपलब्ध कागजात, अदालतको मिसिल, प्रयोगशाला परीक्षण र कम्पनी पक्षको जवाफलाई समेत आधार बनाउनुपर्ने हुन्छ।
पुरानो मुद्दाको अन्तिम कानुनी परिणाम आफ्नो ठाउँमा छ। तर, स्युडोइफ्रिडिन प्रकरणमा नाम जोडिएको व्यावसायिक समूह अहिले सर्वसाधारणले प्रत्यक्ष उपभोग गर्ने पेय पदार्थको बजारमा सक्रिय भएपछि उत्पादनको गुणस्तर र नियमनको प्रश्न भने स्वाभाविक रूपमा थप महत्वपूर्ण बनेको छ।





