करेक्सनपछि सम्हालियो शेयर बजार, साढे ५ अर्बको कारोबारसहित १२ अंकले बढ्यो नेप्से

काठमाडौं । लगातारको उतारचढावपछि आज  शेयर बजारले पुनः लय समातेको छ। मंगलबार उच्च अंकले बढेको बजारमा बुधबार आएको करेक्सनपछि बिहीबार भने नेप्से परिसूचक १२ अंकले बढेको हो।

अर्थ मन्त्रालयले पुँजी बजार सुधारसम्बन्धी कार्यक्रम अघि सारेपछि मंगलबार शेयर बजारमा एकै दिन ४८.५६ अंकको वृद्धि भएको थियो। उच्च वृद्धिपछि बुधबार लगानीकर्ताले नाफा बुक गर्न थालेपछि बजारमा बिक्री चाप बढेको थियो। त्यसक्रममा नेप्से २१ अंकभन्दा बढीले घटेको थियो।

बजेटमार्फत सरकारले शेयर बिक्रीबाट हुने पुँजीगत लाभमा लाग्ने करको दर बढाएपछि लगानीकर्ताले त्यसको विरोध गर्दै आएका थिए। बजेटअघि केही सुधार देखिएको बजार बजेट सार्वजनिक भएपछि भने लगातार दबाबमा परेको थियो। तर, अर्थ मन्त्रालयले पुँजीगत लाभकरको दर घटाउने संकेत गरेपछि मंगलबार बजारमा सकारात्मक प्रभाव देखिएको थियो।

त्यसपछि मन्त्रिपरिषद्ले शेयर बिक्री गर्दा हुने नाफामा लाग्ने पुँजीगत लाभकरको दर बजेटअघिकै अवस्थामा कायम गर्ने निर्णय गरेपछि लगानीकर्ताको मनोबल थप सुधारिएको देखिएको छ। यही प्रभावका बीच बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९३ अंकले बढेको हो।

आज नेप्से ०.४५ प्रतिशतले बढेर २ हजार ६ सय २४.३६ विन्दुमा पुगेको छ। कारोबार रकम भने ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँ पुगेको छ। दिनभर १ करोड ३६ लाख १० हजार ४ सय ९६ कित्ता शेयर ५१ हजार ७ सय २८ पटक किनबेच भएको छ।

बजार बन्द हुँदा १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ। १६ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

आज बिहीबार कुल ३३९ कम्पनी कारोबारमा आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *