काठमाडौँ । सरकारले लामो समयदेखि अलपत्र रहेका निर्माण आयोजनाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ।
पूर्वाधार विकास मन्त्रालयले स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत प्रगतिको सम्भावना नरहेका ६ वटा रुग्ण ठेक्का तोड्ने निर्णय गरेको हो।
बुधबार मन्त्रालयमा आयोजित आयोजना समीक्षाका क्रममा यस्तो निर्णय गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
मन्त्री लम्सालका अनुसार विभाग अन्तर्गत हाल १९ वटा ठेक्का रुग्ण अवस्थामा रहेका थिए । तीमध्ये काम अघि बढ्ने कुनै सम्भावना नदेखिएका ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो।
त्यसैगरी, मन्त्रालयले गरेको निरन्तर निगरानी र सहजीकरणको परिणामस्वरूप रुग्ण अवस्थामा रहेकामध्ये ६ वटा आयोजना भने पूर्ण रूपमा सम्पन्न भएका छन् ।
साथै, रोकिएका थप ५ वटा आयोजनाको निर्माण कार्य पनि पुनः अघि बढेको मन्त्रालयले जनाएको छ।
विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय पूर्वाधार निर्माण सम्बन्धी कार्ययोजना संशोधन गर्ने भएको छ । आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई थप गति दिन सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक निर्देशन दिइसकिएको मन्त्री लम्सालले प्रस्ट पारेका छन्।




