काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको दुवै कार्यक्रमका लागि भदौ ३० गतेदेखि आवेदन खुला गरेको हो। इच्छुक नेपाली नागरिकले आगामी असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म आवेदन दिन सक्नेछन्।
१८ वर्ष उमेर पूरा गरेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ। छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ। महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका लागि दिगो उद्यम तथा रोजगारी सिर्जना गर्न चाहने सक्षम र प्रतिबद्ध उद्यमीलाई आवेदन दिन बैंकले प्रोत्साहन गरेको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नबिल एसएसईमार्फत उद्यम विकाससँगै समुदायमा दिगो आर्थिक अवसर सिर्जना गर्न सक्ने व्यक्तिको क्षमता विकासमा लगानी भइरहेको बताए। उनका अनुसार कार्यक्रमले प्रतिबद्ध उद्यमी पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा दिगो उद्यम निर्माणका लागि आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग जोड्ने उद्देश्य राखेको छ।
बैंकका अनुसार फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनाले तालिम लिएका छन्। तालिम प्राप्त सहभागीले ३१८ वटा उद्यम स्थापना गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १९ हजार ३०३ जनाका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गरेको बैंकको दाबी छ।
फेलोसिप कार्यक्रमका हालसम्म सम्पन्न ६ समूहबाट ११३ जना प्रशिक्षित भएका छन्। उनीहरूमार्फत ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ। त्यस्तै, सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएको बैंकको दाबी छ।
सन् २०२१ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना भएको नबिल एसएसईले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल र वित्तीय पहुँचका अवसर उपलब्ध गराउँदै आएको छ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो। यसले सहभागीलाई आफ्ना उद्यम विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गर्ने बैंकले जनाएको छ।
सर्टिफिकेट कोर्स भने करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो। विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमीलाई लक्षित गरिएको उक्त कार्यक्रममा अवसर पहिचान, व्यावसायिक अवधारणाको परीक्षण, व्यवहारिक व्यावसायिक मोडल निर्माण तथा उद्यम सुदृढीकरणसम्बन्धी ज्ञान प्रदान गरिनेछ।
यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत सञ्चालन हुँदैछ। कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमतीमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल, लुम्बिनीमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णालीमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रम तथा आवेदन प्रक्रियाबारे थप जानकारी नबिल बैंकको वेबसाइट, बैंक तथा नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम र सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।




