सरकारमाथि गम्भीर प्रश्न – बिचौलीयाको प्रभावमा विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको आरोप

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले विद्युतीय खरिद प्रणाली (ईजीपी) बन्द गरेर नयाँ प्रणाली ल्याउने तयारी भइरहेको भन्ने सूचनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै दुलालले ईजीपी प्रणाली ह्याक भएको भन्दै त्यसलाई बन्द गर्न लागिएको सूचना आफूले पाएको बताए। ह्याक भएको भए त्यसको प्राविधिक अनुसन्धान गरी दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने उनको माग थियो।

बिचौलिया, कर्मचारी र व्यवसायीको प्रभावमा परेर सरकारले विद्युतीय खरिद प्रणाली नै बन्द गरी नयाँ प्रणाली ल्याउने तयारी गरिरहेको भन्ने सूचना आएको दाबी गर्दै दुलालले त्यसो नगर्न सरकारलाई आग्रह गरे।

उनले ईजीपी प्रणाली तत्काल खुलाएर पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए। प्रणालीमा समस्या वा ह्याकिङ भएको पुष्टि भए संलग्न व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

दुलालले पुराना कोडका कारण ईजीपी प्रणाली सञ्चालन हुन नसक्ने भन्दै नयाँ प्रणाली ल्याउने नाममा विद्यमान प्रणाली नै हटाउन खोजिएको भए त्यसले सरकारको डिजिटल शासन र सुशासनको प्रतिबद्धतामाथि प्रश्न उठाउने बताए।

‘ह्याक भएको भए ह्याकिङमा संलग्नलाई छानबिन गरी आवश्यक कारबाही गरियोस्, कसैलाई पनि उन्मुक्ति नदिइयोस्,’ उनले भने।

डिजिटल शासन र सुशासनको प्रतिबद्धता जनाएको सरकारले ईजीपी प्रणाली हटाएर पुनः कागजी प्रक्रियातर्फ फर्किनु विडम्बनापूर्ण हुने दुलालको टिप्पणी थियो। उनले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउन विद्युतीय प्रणालीलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *