प्रधानमन्त्री वालेन्द्र निजी क्षेत्रप्रति सकारात्मक नरहेको सभापति थापाकाे आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र निर्णयले सरकार निजी क्षेत्रप्रति सकारात्मक नरहेको संकेत गरेको आरोप लगाएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा अघि बढाउने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्न नसकेको टिप्पणी गरे।

सरकारी उद्योग सञ्चालनको विषयलाई छुट्टाछुट्टै निर्णयका रूपमा नभई मुलुकको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाइ थियो। उनले दुग्ध विकास संस्थान, हेटौंडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालन गर्ने विषयमा सरकारको स्पष्ट आर्थिक दृष्टिकोण आवश्यक रहेको बताए।

सरकार आफैंले उद्योग सञ्चालन गर्नेभन्दा निजी क्षेत्रको भूमिका विस्तार गर्ने र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने नीति लिनुपर्नेमा थापाले जोड दिए।

उनले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गर्दै सरकारले कुन आर्थिक बाटो रोज्छ भन्ने विषयले मुलुकको भावी दिशा निर्धारण गर्ने बताए।

तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए मुलुकको आर्थिक विकासको आधार निर्माण हुन नसक्ने थापाको दाबी थियो।

सभापति थापाले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हुनुपर्ने बताए। मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *