काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको नेतृत्व गर्न छाडेर सामाजिक सञ्जालमा भाइरल हुने ‘स्टन्ट’ मा व्यस्त भएको भन्दै व्यङ्ग्य गरेका छन्।
बाढीपछि टनेलबाट सकुशल उद्धार गरिएका नागरिकलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले उपचार तथा सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा गृहमन्त्री अक्सिजन सिलिण्डर बोकेर भिडिओ खिचेको घटनाप्रति लक्षित गर्दै महरले गृहमन्त्रीको वास्तविक जिम्मेवारी सम्झाएका हुन्।
उनले भनेका छन्, – ‘गृहमन्त्रीज्यू! प्लिज तपाईँ कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्।’
उनले टनेलभित्र नागरिकको जीवन जोखिममा परेका बेला गृहमन्त्री स्वयं उद्धारकर्मीको भूमिकामा देखिनुभन्दा सरकारका सबै निकायलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताएका छन्।
अक्सिजन सिलिण्डर बोक्ने काम उद्धारमा खटिएका सुरक्षाकर्मीले गर्न सक्ने भए पनि गृह मन्त्रालयको नेतृत्व गर्ने व्यक्तिले उद्धार अभियानको समग्र कमाण्ड सम्हाल्नुपर्ने उनको भनाइ छ।
‘तपाईँको काम त्यो अक्सिजन सिलिण्डर बोक्ने होइन। तपाईँले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ,’ महरले व्यङ्ग्य गर्दै भनेका छन्।
उनले आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन, सम्बन्धित आयोजनाका प्राविधिक तथा निर्माणकर्तासँग तत्काल छलफल गर्न र उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न सरकारलाई सुझाव दिएका छन्। राहत कोषमा अर्बौं रकम मौज्दात रहेको उल्लेख गर्दै उनले विज्ञ र प्राविधिक परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने बताएका छन्।
‘त्यो सिलिण्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ नि। त्यसका लागि गृहमन्त्री चाहिँदैन,’ महरको टिप्पणी छ।
गृहमन्त्री उसै पनि सामाजिक सञ्जालमा भाइरल हुने व्यक्ति भएकाले उद्धारस्थलमा थप ‘स्टन्ट’ गर्नुभन्दा नागरिकको जीवन बचाउने अभियानको नेतृत्वमा ध्यान दिनुपर्ने उनको व्यङ्ग्यात्मक भनाइ छ।
टनेलभित्र फसेका नागरिकको जीवन रक्षाका लागि एक–एक सेकेन्ड महत्त्वपूर्ण हुने भएकाले गृहमन्त्रीले क्यामेराअगाडि देखिनेभन्दा उद्धारको कमाण्ड सेन्टरबाट परिणाम निकाल्नुपर्ने महरले बताएका छन्।





