काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश वितरणसहितका विभिन्न प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंकको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज १४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे साधारण सभा गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।




