काठमाडौँ । सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको ढुवानी असहज भएपछि उपत्यकामा ग्यास वितरण गर्दा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइने भएको छ। होटल, रेस्टुरेन्टलगायत व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले भने उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्ने भएको छ।
पछिल्लो समय राजमार्गमा आएको पहिरो तथा सडक अवरोधका कारण काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले यस्तो व्यवस्था गरेको हो।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा पूर्ण रोक लगाइएको छैन। तर, अहिलेको विषम परिस्थितिमा सर्वसाधारणको भान्सा प्रभावित नहोस् भनेर घरायसी उपभोक्तालाई प्राथमिकता दिइएको हो।
‘व्यावसायिक प्रयोजनमा रोक लगाइएको होइन, तर अहिलेको विषम परिस्थितिमा सर्वसाधारणको भान्सा प्रभावित नहोस् भनेर प्राथमिकता घरायसी उपभोक्तालाई दिइएको हो,’ प्रवक्ता ठाकुरले भने, ‘व्यावसायिक प्रयोजनका लागि ग्यास चाहिने व्यवसायीहरूले काठमाडौँका ब्रान्डहरू रिफिलिङ हुने तराईका उद्योगहरूबाट आफैँ ढुवानी गरेर ल्याउन सक्नुहुन्छ।’
सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ वटा उद्योगमध्ये १८ वटा उद्योगमा ग्यास बोकेका बुलेट पुग्न सकेका छैनन्। धादिङ, काभ्रे र काठमाडौँमा रहेका ती उद्योगमा बुलेट पुग्न नसकेपछि उद्योगका खाली सिलिन्डरहरू ट्रकमार्फत तराईका बोटलिङ प्लान्टमा पठाएर ग्यास रिफिलिङ गरी पुनः उपत्यकामा भित्र्याउने तयारी भइरहेको छ।
यस व्यवस्थाले तत्कालका लागि घरायसी उपभोक्ताको ग्यास आपूर्ति सहज बनाउने उद्देश्य राखेको निगमले जनाएको छ। सडक अवरोधका कारण आपूर्ति व्यवस्था सामान्य हुन केही समय लाग्न सक्ने देखिएको छ।




