भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले दिवंगत प्रहरी कर्मचारीका परिवारलाई राहत कोषबाट विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। उक्त रकम प्रहरी कर्मचारीबाट संकलन गरिएको राहत कोषबाट प्रदान गरिनेछ।

बैठकले दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ। साथै, प्रभावित परिवारका एक जना इच्छुक सदस्यलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ।

दिवंगत प्रहरी कर्मचारीका सन्ततिको शिक्षाका लागि आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालयमा तथा उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय, साँगा काभ्रेमा शिक्षण शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ।

बाढीमा परी हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीको खोजी कार्यलाई थप प्रभावकारी बनाउन विशेषज्ञ टोली परिचालन गर्ने निर्णयसमेत भएको छ। खोजी कार्यका क्रममा परिवारका सदस्यसँग निरन्तर समन्वय गरिने प्रहरीले जनाएको छ।

बैठकले बाढीमा घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा रहेका प्रहरी इकाइहरू—इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी बेत्रावती—मा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्री क्षति भएबापत जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि भएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड

राष्ट्रिय विपद्को यस घडीमा सरकारलाई सहयोग पुर्‍याउन नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। उक्त रकम पनि प्रहरी कर्मचारीहरूको योगदानबाट संकलन गरिएको हो।

समग्र प्रक्रियालाई सहजीकरण गर्न मानवस्रोत विकास विभागका एक जना वरिष्ठ प्रहरी अधिकृतलाई ‘सम्पर्क व्यक्ति’ तोकिएको छ। उनले दिवंगत, बेपत्ता तथा घाइते प्रहरी कर्मचारीका परिवारलाई सेवा–सुविधा तथा उपचार प्राप्तिमा आवश्यक समन्वय र सहयोग गर्नेछन्।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी–त्रिशूली बाढीमा परी हालसम्म तीन जना प्रहरी कर्मचारीको शव फेला परेको छ भने २५ जना सम्पर्कविहीन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *