काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको हाल कायम साधारण शेयरतर्फको चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो। त्यस्तै, १० प्रतिशतका दरले सोही रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ।
यसैगरी, बैंकको ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशतका दरले हुने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। उक्त लाभांश शेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक आधारमा वितरण गरिनेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।





