काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन्।
तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन भएका हुन्। नेपाल बैंकर्स संघका अनुसार हालसम्म विभिन्न ८ शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कमा आएका छैनन् ।
बाढीका कारण नदी आसपासका बजारमा रहेका बैंकका शाखा कार्यालयहरूमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार बाढीबाट ९ वटा बैंक शाखा प्रभावित भएका छन्। तीमध्ये ८ शाखामा कार्यरत कर्मचारीसँग भने सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।
संघका अनुसार बाढीबाट प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा कार्यालय प्रभावित भएका छन्।
बाढीले बैंकका कार्यालय तथा भौतिक संरचनामा क्षति पुर्याउनुका साथै कर्मचारीको अवस्थाबारे समेत गम्भीर चिन्ता बढाएको संघले जनाएको छ। सम्पर्कविहीन कर्मचारीको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको र विस्तुत जानकारी भने अझै आउन बाँकी रहेको संघले उल्लेख गरेको छ।




