युनाइटेड अजोड इन्स्योरेन्सबाट धमाधम बाहिरिँदै शेयरधनी, १.१० लाख कित्ता शेयर आज पनि बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका केही संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर धमाधम बिक्री गर्न थालेका छन्।

सोहि क्रममा आज पनि कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राख्दै ३५ दिने सूचना जारी गरेको हो। कम्पनीले दिनहुँजसो संस्था छोड्न चाहने शेयरधनीको शेयर बिक्री गर्दै आएको छ।

कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि उक्त शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ। संस्थापकले खरिद नगरेमा सर्वसाधारणका लागि बिक्री आह्वान गरिने कम्पनीले जनाएको छ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ।

प्रचलित कानुनी व्यवस्थाअनुसार संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले कम्पनीले हाल कायम संस्थापक शेयरधनीलाई लक्षित गर्दै आवेदन माग गरेको हो।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको कित्ता र रकम खुलाएर आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा पेस गर्नुपर्नेछ।

निर्धारित ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा वा सबै शेयर बिक्री नभएमा बाँकी शेयर अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ। त्यसका लागि ३५ दिनको अवधि समाप्त भएपछि थप १५ दिनको समय दिइनेछ।

संस्थापक शेयरधनीबाट आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि आवेदन पर्न थालेसँगै युनाइटेड अजोड इन्स्योरेन्समा संस्थापक लगानीकर्ताको बहिर्गमनको क्रम देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *