रसुवाको बाढीले बढायो जलविद्युत् क्षेत्रमाथिको सङ्कट, बीमा कम्पनीमा थपिँदै अर्बौंको दाबी

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बुधबार आएको बाढीले जलविद्युत् आयोजना, भन्सार क्षेत्र, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीबाट भएको क्षतिको वित्तीय प्रभाव भने जलविद्युत् कम्पनीमा मात्र सीमित नरही निर्जीवन बीमा र पुनर्बीमा कम्पनीसम्म पुग्ने देखिएको छ।

बाढीका कारण रसुवामा रहेका माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा भोटेकोशी, माथिल्लो मैलुङ ए, सान्जेन खोला, लाङटाङ खोला र चिलिमेलगायत जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। नेपाल बीमा प्राधिकरणका अनुसार बुधबार साँझसम्म करिब १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी आएको थियो।

प्रभावित आयोजनामध्ये सञ्चालनमा रहेका आयोजनाको क्षमता ३५४ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट रहेको छ। यसअनुसार कुल ७४८ मेगावाट क्षमताका आयोजना प्रभावित भएको प्रारम्भिक विवरण छ।

बाढीबाट प्रभावित केही जलविद्युत् कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन्। चिलिमे, रसुवागढी, सान्जेन र माथिल्लो मैलुङलगायत कम्पनीमा प्रत्यक्ष असर पर्न सक्ने आशंकाले सेयर बजारमा बिक्री चाप बढेको देखिएको छ।

बुधबार जलविद्युत् समूहको परिसूचक २.८४ प्रतिशत अर्थात् १०४ अंकले घटेको थियो। निर्जीवन बीमा समूहमा पनि ३.९० प्रतिशत अर्थात् ४०४ अंकको गिरावट आएको थियो। समग्र नेप्से परिसूचकसमेत ३५.९२ अंकसम्म घटेको थियो।

तर जलविद्युत् आयोजनामा भएको क्षतिको सम्पूर्ण भार सम्बन्धित कम्पनीले मात्र बेहोर्नुपर्ने हुँदैन। आयोजनाको बीमा गरिएको हुने भएकाले क्षतिको निश्चित हिस्सा बीमा कम्पनीले बेहोर्नुपर्ने हुन्छ। बीमा कम्पनीले पुनर्बीमा गरेका कारण त्यसको अर्को हिस्सा पुनर्बीमा कम्पनीमा हस्तान्तरण हुन्छ।

निर्माणाधीन जलविद्युत् आयोजनाको बीमा इन्जिनियरिङ बीमाअन्तर्गत हुने गरेको छ भने सञ्चालनमा रहेका आयोजनाको सम्पत्ति बीमा हुने गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। निर्माणाधीन आयोजनाको बीमांक रकम पनि आयोजना निर्माणको अवस्थाअनुसार फरक हुने भएकाले कुल परियोजना लागतलाई नै सम्भावित बीमा दाबीको आधार मान्न सकिँदैन।

निर्माणाधीन आयोजनाको बीमा जोखिमको ठूलो हिस्सा पुनर्बीमा कम्पनीमा हस्तान्तरण हुने गरेको छ। कतिपय अवस्थामा ७० देखि ८० प्रतिशतसम्म जोखिम पुनर्बीमा गरिएको हुन्छ। सञ्चालनमा रहेका सम्पत्तिको बीमामा पनि बीमा कम्पनीले केही जोखिम आफैं राखेर बाँकी हिस्सा पुनर्बीमा गर्ने गर्छन्।

नेपालमा हाल नेपाल पुनर्बीमा र हिमालयन रि–इन्स्योरेन्स गरी दुई पुनर्बीमा कम्पनी छन्। यी कम्पनीले पनि आफ्नो जोखिमको केही हिस्सा विदेशी पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्न सक्छन्। त्यसैले रसुवाको बाढीबाट हुने क्षतिको वित्तीय भार एउटै कम्पनीमा केन्द्रित हुने अवस्था हुँदैन।

जलविद्युत् आयोजनाबाहेक रसुवा भन्सार क्षेत्रका यार्डमा राखिएका सवारी साधनमा भएको क्षतिले पनि बीमा दाबी बढाउन सक्ने देखिएको छ। सवारी साधनको मूल्यअनुसार बीमा गरिएको हुने भएकाले ठूलो संख्यामा सवारी साधन क्षतिग्रस्त भएको अवस्थामा त्यसबाट पनि उल्लेख्य दाबी आउन सक्छ।

यद्यपि, अहिले नै कुन बीमा कम्पनीले कति दाबी बेहोर्नुपर्नेछ भन्ने यकिन भइसकेको छैन। प्रभावित आयोजनाको वास्तविक क्षति, बीमांक रकम, बीमा पोलिसीका सर्त, बीमा कम्पनीले आफैं राखेको जोखिम र पुनर्बीमा गरिएको हिस्साको विवरण सार्वजनिक भएपछि मात्रै वास्तविक दायित्व स्पष्ट हुनेछ।

त्यसैले बुधबार सेयर बजारमा देखिएको निर्जीवन बीमा र जलविद्युत् समूहको गिरावटलाई तत्कालीन वित्तीय क्षतिको अन्तिम परिणामभन्दा पनि बाढीबाट सिर्जना हुन सक्ने सम्भावित जोखिमप्रतिको प्रारम्भिक बजार प्रतिक्रियाका रूपमा हेर्नुपर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *