काठमाडाैं । नेपालको विदेशी मुद्रा सञ्चिति ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चिति एक वर्षमा १९.६ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा भने विदेशी मुद्रा सञ्चिति २५ अर्ब ३१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको १९ अर्ब ५० करोड डलरको तुलनामा २९.८ प्रतिशत बढी हो।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति ४३.८ प्रतिशतले बढेर ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो।
त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ६१.४ प्रतिशतले बढेर ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.३ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ।
त्यस्तै, २०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६३.८ प्रतिशत, कुल आयातसँगको अनुपात १६३.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्ष यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए।




