विराटनगर किंग्सले भित्र्यायो आन्द्रे रसेल

काठमाडौँ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि विराटनगर किंग्सले वेस्ट विन्डिजका चर्चित अलराउण्डर आन्द्रे रसेललाई भित्र्याएको छ।

विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिग खेलेका रसेल विस्फोटक ब्याटिङ र प्रभावशाली बलिङका लागि परिचित छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एनपिएललाई औपचारिक मान्यता दिएसँगै विराटनगरले रसेलको नाम सार्वजनिक गरेको हो।

रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरेका थिए। वेस्ट विन्डिजका लागि ८६ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका उनले १ हजार १२२ रन बनाएका छन् भने ६१ विकेट लिएका छन्।

रसेलले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सका तर्फबाट लामो समयसम्म खेलेका थिए। उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग बास लिग (बिबिएल)लगायत विभिन्न टी–२० लिग खेलेका छन्।

एनपिएलका लागि आफू उत्साहित रहेको रसेलले बताएका छन्। उनी भन्छन्, ‘एनपिएल सिजन–३ का लागि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छु। नेपाली क्रिकेट समर्थकहरूको जोश र माया अनुभव गर्न म आतुर छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *