काठमाडौं । रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांक अनुसार एकै वर्ष कुल २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएकोमा यस वर्ष दोब्बर प्रतिशत बिन्दुले बढेको हो ।
राष्ट्र बैंकका अनुसार असार २०८३ मा मात्र २ खर्ब ४२ अर्ब ३३ करोड बराबर रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष सोही महिना रेमिट्यान्स १ खर्ब ८९ अर्ब ११ करोडमात्र भित्रिएको थियो ।
नेपालले गत आव १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो । यस आधारमा नेपालको कुल बजेटलाई वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले उछिनेको हो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशत बढेर १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशत बढेको थियो ।
समीक्षा वर्षमा खुद द्वितीय आय २५ खर्ब ८१ अर्ब पुगेको छ । अघिल्लो आव १८ खर्ब ७४ अर्ब थियो ।
गत वर्ष संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६ हजार ५ सय १९ थियो । पुन: श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८५ हजार ७ सय ८३ थियो । अघिल्लो वर्ष क्रमश: ५ लाख ५ हजार ९ सय ५७ र ३ लाख ३३ हजार ३ सय ९ थियो ।




