प्रतिनिधिसभामा आज प्रधानमन्त्री वालेन्द्रले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।

मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्री भएयता साहले पहिलोपटक नियमानुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन् । सांसदहरुले लामो समयदेखि उनको खोजी गरिरहेका थिए ।

११ सांसदले प्रधानमन्त्रीलाई सोध्न प्रश्न दर्ता गराएका छन् । रास्वपाका कृष्णहरि बुढाथोकी, समीक्षा बाँस्कोटा र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।

त्यस्तै, कांग्रेसका वासना थापा र गीता गुरुङ, एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन् । नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाकी खुस्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *