काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको बताएका छन् । मंगलबार फेसबकुमार्फत उनले सर्वोच्चमा मुद्दा दर्ता गरेपछि आफू र केही व्यक्तिको नाम जोडेर ‘अदालत सेटिङ’ गरिएको भन्दै प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
अदालतमा न्याय माग्न पुगेको विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास पैदा गर्ने उद्देश्यले आफूलाई समेत जोडेर ‘अदालत सेटिङ’ गरिएको भन्दै गलत प्रचार भइरहेको खड्काको आरोप छ ।
‘न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा अदालत सेटिङ गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन् ।
खड्काले उक्त प्रचारलाई ‘कुप्रचार’को संज्ञा दिँदै अदालतको गरिमा घटाउने योजनाबद्ध खेलप्रति खेदसमेत व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यमलाई समेत यस्ता प्रचारप्रति सचेत रहन आग्रह गरेका छन् ।
कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापामगरले नेता खड्काले अदालतलाई मिलाइसकेको भनि अभिव्यक्ति दिँदै हिँडेको दावी गरेकी थिइन् । अदालतमा विचाराधिन रहेको प्रसंगमा कांग्रेस नेताले खड्काले आफूहरूको पक्षमा आदेश आउने अभिव्यक्ति दिएको केन्द्रीय सदस्य थापामगरको दाबी छ ।
थापामगरले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘केही समययता तपाईंले ‘पहिला म जेलमा भएको बेला परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्दाजस्तै सेटिङ गर्थेँ । अब योपालि त्यस्तो हुन नदिन मिलाइसकें, फलानी–फलानो श्रीमानलाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकेँ, स्टे पनि आउँछ, आधिकारिकता पनि आउँछ’ भन्नुभएको रहेछ कहीँ कतै ।’ नेृत थापामागरले खड्कालाई अदालतका ‘कर्मचारीदेखि श्रीमानसम्म’ मिलाएको छु भन्दै नहिँड्न चेतावनी दिएकी थिइन् ।





