काठमाडौं । टाटाको बहुप्रतीक्षित सिएरा ईभी नेपाली बजारमा सार्वजनिक भएको छ। आकर्षक फ्युचरिस्टिक डिजाइन, लामो रेन्ज, शक्तिशाली पर्फर्मेन्स र अत्याधुनिक फिचरले सुसज्जित यो विद्युतीय एसयूभीलाई नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मार्फत सार्वजनिक गरेको हो।
सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याक उपलब्ध छन्। कम्पनीका अनुसार ६३ किलोवाट आवर ब्याट्री भएको संस्करणले एकपटक फुल चार्जमा ५३५ किलोमिटर र ७५ किलोवाट आवर ब्याट्री भएको संस्करणले ६६५ किलोमिटरसम्म रेन्ज दिन सक्छ।
लामो यात्राका लागि उपयुक्त बनाइएको यो गाडीलाई छिटो चार्ज गर्न सकिने सुविधा पनि दिइएको छ। फास्ट चार्जिङमार्फत १५ मिनेटमै चार्ज गर्दा २६३ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ। ब्याट्रीमा लाइफटाइम वारेन्टीको सुविधा पनि उपलब्ध गराइएको छ।
पर्फर्मेन्सका हिसाबले सिएरा ईभीको फोर ह्विल ड्राइभ भेरिएन्ट अझ शक्तिशाली छ। यसले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै लिन सक्छ। चालकले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार बुस्ट मोड तथा रिल्याक्स मोडसहित ६ वटा ड्राइभिङ मोडमध्ये छनोट गर्न सक्छन्।
गाडीको बाहिरी डिजाइनमा पनि टाटाले विशेष ध्यान दिएको छ। अगाडि र पछाडि एलईडी हेडलाइट तथा टेललाइटसँगै कनेक्टिङ एलईडी बार राखिएको छ। १९ इन्चका अलोय ह्विलले यसको बाहिरी स्वरूपलाई थप आकर्षक बनाएको छ।
सिएरा ईभीको भित्री भागलाई आरामदायी र सुविधासम्पन्न बनाइएको छ। यसमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर र सनरुफ उपलब्ध छन्। त्यस्तै, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जिङको सुविधा पनि दिइएको छ।
मनोरञ्जनका लागि गाडीमा १२ स्पिकरसहितको जेबीएल साउन्ड सिस्टम राखिएको छ। डल्बी एटमस प्रविधिले यसलाई थप स्तरीय ध्वनि अनुभव प्रदान गर्नेछ।
सुरक्षातर्फ पनि सिएरा ईभीमा पर्याप्त फिचर समावेश गरिएको छ। यसमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड र लेभल २ एडीएएस उपलब्ध छन्। यी सुविधाले पार्किङदेखि यात्राका क्रममा चालकलाई आवश्यक सुरक्षा र सहयोग प्रदान गर्ने कम्पनीको दाबी छ।
गाडीको उपयोगितालाई ध्यानमा राख्दै सामान राख्ने पर्याप्त ठाउँ पनि दिइएको छ। पछाडिको बुट स्पेस ६२२ लिटरको रहेको छ भने अगाडितर्फ ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज उपलब्ध छ। सवारीलाई थप सहज बनाउन यसमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ।
लामो रेन्ज, शक्तिशाली पर्फर्मेन्स, आधुनिक डिजाइन र प्रविधियुक्त फिचरका कारण सिएरा ईभीले नेपाली विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ।





