काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०८२/८३ मा दुई डेपुटी गभर्नर, छ कार्यकारी निर्देशकसहित ३० जना कर्मचारी बाहिरिएका छन्। उमेरहद, सेवा अवधि र पदावधि पूरा भएपछि उनीहरू राष्ट्र बैंकबाट बाहिरिएका हुन्।
गत आर्थिक वर्षमा राष्ट्र बैंकको उच्च व्यवस्थापन तहबाट मात्रै ८ जना बरिष्ठ अधिकारी बाहिरिएका छन्। डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र ५ वर्षे कार्यकाल पूरा गरी गत फागुन २४ गते अवकाशमा गए। उनीहरू २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए।
त्यस्तै गत आर्थिक बर्षमा कार्यकारी निर्देशक प्रदीप राज पौड्याल साउन १७ गते अवकाशमा गए भने ऋषिकेश भट्टले भदौ १२ गते र गभर्नर बन्ने दौडमा रहेर राजिनामा बुझाएका डा. गुणाकर भट्टले गत कात्तिक ६ गते राष्ट्र बैंकको सेवाअवधि सकेर बाहिरिए।
त्यसैगरी, विमलराज खनाल पुस ७ गते र कार्यकारी निर्देशक रोशनकुमार सिग्देल चैत १८ गते ५८ वर्षे उमेरहदका कारण अवकाश भए। कार्यकारी निर्देशक नरेश शाक्य पनि ७ वर्षे पदावधि सकेर यहि जेठ ३० गते सेवाबाट बाहिरिएका थिए।
उच्च तहका अधिकारीसँगै विभिन्न विभाग र कार्यालयमा कार्यरत अन्य कर्मचारी पनि गत आर्थिक वर्षमा सेवाबाट निवृत्त भएका छन्। बैंकिङ विभागका हिरालक्ष्मी नेपाली र मुद्रा व्यवस्थापन विभागका साउचा पोडेले ३० वर्षे सेवा अवधि पूरा भएपछि साउन १ गते अवकाश लिएका थिए।
त्यसैगरी गत आर्थिक बर्षमा राष्ट्र बैंकबाट बाहिरिनेमा विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिम्सिना, टक्सार महाशाखाका निर्देशक लोकेन्द्रप्रसाद अर्याल, सिद्धार्थनगर कार्यालयका उपनिर्देशक माधवराज ढकाल, लघुवित्त संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक नरेशकुमार अधिकारी र कानुन महाशाखाका निर्देशक टेकराज भण्डारीलगायतका अधिकारीहरु रहेका छन्।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार गत आर्थिक वर्षमा अवकाश हुनेमध्ये अधिकांश कर्मचारी ५८ वर्षे उमेरहदका कारण सेवाबाट बाहिरिएका हुन्। राष्ट्र बैंकका अनुसार बैंकबाट बाहिरिएका उच्च अधिकारीहरू वित्त व्यवस्थापन, आर्थिक अनुसन्धान, बैंक तथा वित्तीय संस्था नियमन, बैंक सुपरिवेक्षण, भुक्तानी प्रणाली, मुद्रा व्यवस्थापन, सूचना प्रविधिलगायत राष्ट्र बैंकका महत्वपूर्ण जिम्मेवारीमा थिए।




